बुटवल, ४ माघ ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप गरिएको महिला तथा प्रसूति शल्यक्रिया कक्षको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरेका छन् ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री उपचार सेवालाई छिटोछरितो रुपमा प्रदान गर्न शल्यक्रिया कक्षले महत्वपूर्ण योगदान गर्ने बताए । ‘उपचार सेवा लिन जुन पालो पर्खनुपर्ने अवस्था छ । त्यसलाई घटाउन सहयोग पुग्ने विश्वास लिएको छु’मुख्यमन्त्री आचार्यले भने, ‘अब पालो पर्खनुपर्ने समस्यालाई हल गर्न सक्ने छौं भन्ने लागेको छ ।’
प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने गरी सरकारले कार्यक्रम बनाएको बताउँदै त्यसमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको महत्वपूर्ण योगदान जरुरी रहेको उनले औंल्याए । ‘सेवा प्रवाहलाई चुस्त बनाउने भनेको यहाँ कार्यरत जनशक्तिले हो’उनले भने, ‘दत्तचित्त भएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन यहाँहरुले खेलेको भूमिकाको प्रदेश सरकार प्रशंसा गर्न चाहन्छ । अझ यहाँहरुबाट थप योगदान सरकारले खोजेको छ ।’
त्यसै गरी लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सेवालाई गुणस्तर बनाउनका लागि अस्पताल परिवारले सामुहिक भावनाले काम गर्न निर्देशन दिए । प्रदेश सरकारले सबै स्वास्थ्य संस्थाहरुलाई नजिकबाट निगरानी राखेर मूल्यांकन गरिरहेको उल्लेख गर्दै मन्त्री सारुले आफ्नो जिम्मेवारीमा प्रतिबद्ध भएर सेवामा लाग्न आग्रह गरे ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मात्र नभइ सिंगो प्रदेशको समृद्धिका लागि ‘लाइफ लाइन’ को रुपमा रहेको उनले उल्लेख गरे । अस्पतालमा आउने जुनसुकै वर्ग वा समुदायका सेवाग्राहीले अपनत्व महसुस गर्ने गरी निःस्वार्थ पूर्वाग्रहरहित भएर काम गर्न अस्पताल परिवारलाई मुख्यमन्त्री आचार्यले निर्देशन दिए । त्यसै गरी अस्पतालमा बन्दै गरेको १२ तले अत्याधुनिक भवन निर्माणका कामलाई समयै सम्पन्न गर्नका लागि सरकारले आवश्यक निगरानी र सहजीकरणको काम गरिरहेको समेत जानकारी गराए ।


No comments:
Post a Comment