सैनामैना नगरपालिकाले सैनामैना सम्मृद्धिको आधारः उत्पादन, पर्यटन र पूर्वाधार भन्ने नाराका साथ आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
११७ बुँदामा समेटिएको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।
नगर सभामा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले ७० वर्ष माथिका ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, अति गरिव तथा विपन्न व्यक्तिहरुलाई स्वास्थ्य सेवा लिनको लागि नगर भित्र र रुपन्देही जिल्ला भित्रका अन्य स्वास्थ्य संस्थामा जानुपर्ने भएमा निशुल्क एम्वुलेन्स सेवालाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।
नीति तथा कार्यक्रममा कोखदेखि शोकसम्म नगर सरकार भन्ने नीतिलाई अवलम्वन गर्दै घरमै सुत्केरी हुने दरलाई कम गरी मातृ तथा शिशु मृत्युदर कम गर्न स्वास्थ्य संस्थामा सुत्केरी हुनलाई प्रोत्साहन तथा सुत्केरी र नवजात शिशुको पोषण तथा सरसफाई प्रवर्धन कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ ।
त्यसैगरी पाठेघरको मुखकों क्यान्सर समयमै पहिचान गर्नको लागि सबै स्वास्थ्य संस्थामा निशुल्क नियमित पाठेघरको मुखको क्यान्सर स्क्रिनिंग र परीक्षण गर्ने कार्यलाई प्रभावकारी वनाउने, थारु समुदायमा मात्र हुने वंशाणुगत रोग सिकलसेल एनिमियाको समयमा पहिचान गर्नको लागि स्क्रिनिंग गरी उपचारको व्यवस्था मिलाउने, क्यान्सर, मुटुरोग, मृगौलारोग, गम्भीर चोटपटक लगायतका विभिन्न स्वास्थ्य समस्या भएर आर्थिक अभावमा स्वास्थ्य संस्थामा जान नसकेका विपन्न नगरबासीलाई स्वास्थ्य संस्थासम्म पुगेर जाँच तथा उपचार गराउन आवश्यक सहयोगको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा पर्रोहा स्वास्थ्य चौकीमा रहेको २४ घण्टे बर्थिंङ्ग सेन्टर संचालनलाई व्यवस्थित बनाउदै दुधराक्ष स्वास्थ्य चौकीमा समेत वर्थिङ्ग सेन्टर संचालन गरिने, किशोरीहरूमा हुने रक्तअल्पता कम गर्नको लागि साप्ताहिक आइरन फोलिक एसिड खुवाउने र गर्भवतीलाई भिटामिन डि खुवाउने कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लगिने, मृगौला रोगका लागि नियमित डायलाइसीस गर्न र मुटुरोगको उपचारका लागि वुटवलसम्म नियमित आउन जानको लागि निशुल्कयातायात सेवाको व्यवस्था मिलाइने, सैनामैना १ मा संचालित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालय संचालनमा थप प्रोत्साहन गरिने, स्वास्थ्य सम्वन्धि तथ्यांक व्यावस्थापनलाई व्यवस्थित र गुणस्तरीय बनाइ तथ्यपरक योजना तर्जुमा गरिने, निर्माणाधिन १५ सैयाको आधारभूत अस्पताललाई सम्पन्न गरी आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गरी संचालनमा ल्याईने उल्लेख छ ।
त्यसैगरी कृषकहरुलाई कोल्ड स्टोर भण्डारण तथा ढुवानीमा अनुदानको व्यवस्था मिलाईनुका साथै मुर्गिया हाटवजारमा निर्माणाधिन शित भण्डारण गृह सम्पन्न गरी यसै आर्थिक वर्षमा सार्वजनिक निजी साझेदारी प्रणाली मार्फत संचालन गरिने, दुध तथा मासुजन्य उत्पादनलाई वृद्धि गर्न नश्ल सुधार कार्यक्रम संचालन गरिने, “उत्पादन साथमा अनुदान हातमा“ भन्ने नारालाई आत्मसात गर्दै दुध र मासु उत्पादन गर्ने किसानलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान उपलब्ध गराईने र बाख्राको पकेट कार्यक्रमलाई निरन्तरता दिईने उल्लेख छ ।
नगरभित्रका मुख्य सडकहरु मुर्गिया–लुम्बिनी सडक, कलौनी– लुम्बिनी सडक, सैनामैना चक्रपथ, सैनामैना मेजर सडक, सालझण्डी– ढोरपाटन सडक, रानिवगिया– वोलवम सडकजस्ता ठूला तथा महत्वपुर्ण सडकहरुमा वातावरणीय सुन्दरताका निम्ति सुगन्धित सदावहार फुल्ने विरुवा रोपी ग्रीनबेल्ट निर्माण गर्ने कार्यलाई निरन्तरता दिईने उल्लेख गरिएको छ ।
८० वर्ष माथिका जेष्ठ नागरिक र पूर्ण अपाङ्गता तथा असक्त भएका लाभग्राहीहरुलाई बैंकमार्फत घरमै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्थालाई थप प्रभावकारी बनाईने, नीति तथा कार्यक्रममा राज्यको चौथो अंग मिडिया जगतलाई परिचालन गरी स्थानीय रेडियो तथा टेलिभिजनमार्फत जनतासंग जनप्रतिनिधि, हाम्रो सैनामैना राम्रो सैनामैना जस्ता रेडियो टेलिभिजन कार्यक्रम, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण तथा सार्वजनिक परिक्षण जस्ता कार्यक्रमलाई निरन्तरता दिई पारदर्शिता र जवाफदेहीता कायम गरिने उल्लेख छ I
नीति तथा कार्यक्रममा पर्रोहा पर्मेश्वर वोलवमधाम मन्दिर निर्माण कार्य सम्पन्न गरी पर्यटकिय धार्मिकस्थलको रुपमा विकास गरिने, संघ, प्रदेश र नगरपालिकाको साझेदारीमा निर्माणाधिन औधोगिक ग्राम, गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, मुर्गियास्थित राष्ट्रिय फुटवल रङ्गशाला र वोलवम क्षेत्र विकास परियोजना निर्माण गरिने उल्लेख गरिएको छ ।